चितवन — नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे दुई बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ ।
मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर गाडी खुलेका थिए ।
राति गएको पहिरो सोमबारको भन्दा आधा भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालले बताए । त्यसैले पनि चाँडै बाटो खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ । बाटोमा सोमबार रातिदेखि कै गाडीहरू अलपत्र छन् ।




