असार ३२ गते साइबर ब्यूरोलाई दुबईबाट फोन आयो । फोन गर्नेले भने, ‘मेरी बुढीले आत्महत्या गर्दैछ, मैले सुनेको साइबर ब्यूरोले बचाउँछ रे ! लौ न बचाइदिनुपर्यो ।’
उनकी ३१ वर्षीया श्रीमती सविता (नाम परिवर्तन) ले फेसबूकमा लेखेकी थिइन्, ‘यस्तो हुँदा अब बाँचेर के अर्थ ? अब मर्छु ।’ त्यो स्ट्याटसको ‘स्क्रिन शट’ उनले साइबर ब्यूरोलाई उपलब्ध गराइदिए ।
त्यसपछि ब्यूरोले ‘क्विक रेस्पोन्स’का लागि सामाजिक सञ्जाल ह्वाट्स एपको क्लोज ग्रुप बनायो । त्यसमा साइबर ब्यूरोका अनुसन्धानमा खटिएका प्रहरी अधिकृत, आत्महत्या गर्ने सविता, उनका श्रीमान्, श्रीमानका साथी, उनकी श्रीमतीलाई जोडेर कुराकानी शुरू गर्यो ।
अत्यन्तै गोप्य रूपमा ह्वाट्स एप ग्रुपमा भिडियो कुराकानी शुरू भयो । त्यही क्रममा उनको घर नजिकैको छिमेकीलाई पनि त्यो ग्रुपमा जोडियो ।
साइबर ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार सामाजिक सञ्जालमा विभिन्न स्ट्याटस लेख्ने, लाइभ गरेर आत्महत्या गर्न खोज्नेलाई भाइबर, ह्वाट्स एप लगायतको म्यासेन्जर प्रयोग गरेर उद्धार गर्ने गरिएको छ ।
‘पछिल्लो समय बढेको सामाजिक सञ्जालको प्रयोगलाई हामीले आत्महत्याबाट जोगाउने तरिका बनाएका छौं, जुन निकै प्रभावकारी देखिएको छ,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने, ‘यसमा नितान्त अनुसन्धान अधिकारी र पीडित व्यक्तिहरू मात्र हुन्छन् ।’
सविताको घरको वस्तुस्थितिबारे जानकारी लिन प्रहरीले छिमेकीलाई घरमा पठायो । स्थानीय प्रहरीलाई पनि ब्यूरोले खबर गर्यो । यसबीचमा उनी ह्वाट्स एप ग्रुपमा जोडिएकी थिइन् । उनलाई प्रहरीले ‘काउन्सिलिङ’ गरिरहेको थियो ।
उता सविताको छोरा तल्लो तलामा खेलिरहेका थिए । सविताको घरमा गएकी छिमेकीले उनलाई सोधिन्, ‘तिम्रो मम्मी कहाँ हुनुहुन्छ ?’ बच्चाले माथिल्लो तलामा रहेको जानकारी दिएपछि उनी माथिल्लो तलामा जाँदा ३१ वर्षीया सविता आत्महत्या गर्ने तयारीमा थिइन् । उनी कोठामै पुगेपछि आत्महत्या गर्नबाट रोकियो । एकैछिनमा स्थानीय प्रहरी पनि त्यहाँ पुग्यो ।
जब प्रहरीले आत्महत्या गर्नुका पछाडिको कारण खोज्दा श्रीमान्, श्रीमान्का साथी र उनकी श्रीमती भएको सविताले बताइन् ।
सविताका श्रीमान् दुबईको एउटा पाँचतारे होटलमा ‘सेफ’को जागिर गर्छन् । उनी विगत ५ वर्षदेखि त्यहाँ काम गर्दै आएका छन् । सविताले छोरा र छोरीलाई विराटनगरमा हेरचाह गर्दै आएकी छिन् । श्रीमान्ले उनलाई महिनामा घर खर्च पठाउने समेत गरेका छन् ।
त्यो पाँचतारे होटलमै उनका श्रीमानका साथी पनि काम गर्दै आएका छन् । दुवै जना अत्यन्तै मिल्ने र विदेशमा हरेक समय सँगै बस्ने गरेका छन् । त्यसबीचमा श्रीमान्का साथीले उनकी श्रीमती पनि दुबईमै सँगै बस्ने र काम गर्ने योजना बनाएर लगेका थिए ।
दुबईमा बिदाको दिनमा तीनै जना घुमघाम जाने, सामाजिक सञ्जालमा फोटोहरू राख्ने गर्दै आएका थिए । उनका श्रीमान्ले कहिलेकाहीँ साथीकी श्रीमतीसँग पनि घुम्न गएको फोटो राख्ने गरेका थिए । त्यसले उनलाई आफ्नो श्रीमान् साथीको श्रीमतीसँग सल्किएको भान भएको प्रहरीलाई बताएकी छन् ।
‘श्रीमान्ले साथीकी श्रीमतीसँगको फोटो सामाजिक सञ्जालमा शेयर गर्दा मलाई उसैसँग लाग्यो जस्तो लागेको थियो, त्यसले मलाई पीडा हुन्थ्यो नि सर,’ सविताको भनाइ उद्धृत गर्दै साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘विदेशमा श्रीमान्ले राखेको फोटोले शंका उब्जाएर आत्महत्याको बाटोसम्म पुर्याएको देखियो ।’
उनलाई स्थानीय प्रहरी र साइबर ब्यूरोको टोलीले काउन्सिलिङ गरेर उनका श्रीमान्ले आफ्नो यथार्थ अवस्था जानकारी दिएपछि मात्रै उनी शान्त भएकी प्रहरीले जनाएको छ ।
इन्स्पेक्टर खड्गीका अनुसार १ वर्षमा साइबर ब्यूरोले सामाजिक सञ्जालमा लेखेर आत्महत्याको प्रयास गर्ने ४४ जनालाई उद्धार गरिसकेको छ । ३ जनालाई प्रहरीले बचाउन सकेको छैन ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा आत्महत्याको स्ट्याटस लेख्ने, कहिले आत्महत्याको लाइभ गर्ने र आत्महत्याको प्रयास गर्ने गरेको देखिएको इन्स्पेक्टर खड्गीले बताए ।




