विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियामा सर्पले टोकेर मंगलबार बालिकाको मृत्यु भएको छ।
सर्पको टोकाइबाट देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार खुट्टामा सर्पले टोकेर बेहोस भएको अवस्थामा समीक्षा घरको कोठाभित्रै भेटिएकी थिइन्।
खुट्टाबाट रगत बगिरहेको र बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि अभिभावकले सुनसरीको इटहरीमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लागेका थिए। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो।
उपचारका क्रममा बिहान पौने १२ बजेतिर बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ। कुन सर्पले टोकेको भन्ने यकिन हुन बाँकी छ। तर मृतक बालिकाका अभिभावकले घटनाको केही बेरपछि घरमा गोमन सर्प भेटिएको जानकारी प्रहरीलाई गराएका छन्।




