विराटनगर : विराटनगरको एउटा पोखरीबाट सशस्त्र प्रहरीले एक जना युवाको शव निकालेको छ । विराटनगर महानगरपालिका–१९ स्थित ऋषिमोहन पोखरीबाट सशस्त्रले शव निकालेको हो ।
विराटनगर–१९ का ३० वर्षीय फुलु ऋषिदेव पोखरीमा डुबेर सोमबार बेपत्ता भएका थिए । माछा मार्ने क्रममा बेपत्ता भएका उनको खोजीका लागि सशस्त्रको गोताखोर टोली परिचालन गरिएको थियो ।
पोखरीबाट शव निकालेर आवश्यक अनुसन्धानका लागि साँझ नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार पोखरीमा डुबेर बेपत्ता भएका युवाको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक दिवश न्यौपानेको नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको थियो ।
डुंगासहित खटिएको टोलीले पोखरीभित्र डुबिरहेको अवस्थामा शव फेला पारेको हो ।



