चितवन – सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।
अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।
पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ ।
फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् । कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । चारजना मिलेर युवतीलाई पोखरा लगे पनि उनले दुईजनाविरुद्धमात्र जाहेरी दिएकी छन् । राउतमार्फत चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।
आरोपी राउत र पीडित युवतीबीच ७/८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो । राउत र पाण्डेले आफूहरु चितवनमा रहेको भन्दै उतै बोलाएका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा पुगेको बताइएको छ ।
पोखरामा एक रात बस्ने क्रममा आफूमाथि सामूहिक बलात्कार भएको ती युवतीको दाबी छ । चितवनबाट चार गए पनि आफूलाई राउत र पाण्डेले मात्र बलात्कार गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । काठमाडौं फर्कने क्रममा आफूलाई अन्य दुई जनाले दुर्व्यवहार पनि गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
काठमाडौंमा फर्किएपछि आरोपीहरुले बुक गरेको होटलमा बसेकी ती युवतीले भोलिपल्ट आफू पोखरामा बलात्कारमा परेको भन्दै जाहेरी दिएको बुझिएको छ ।



