ब्रिजबेन, अष्ट्रेलिया । भारत अष्ट्रेलियामा बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति रहेको तेश्रो देश बनेको छ ।
नेपालीकोपनि उल्लेखनीय जनसंख्या अष्ट्रेलिया पुगिसकेको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको चीन र न्युजिल्याण्डका नागरिकपनि अष्ट्रेलिया धेरै थिए ।
अहिले ती दुई देशलाई समेत उछिन्दै २०२१ को जनगणना अनुसार विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारतका नागरिकको संख्या अष्ट्रेलियामा तिब्र बृद्धि भएको छ ।
सन् २०२१ को अगस्ट १० सम्म ६ लाख ७३ हजार ३५२ जना भारतीयहरु अष्ट्रेलियामा बसिरहेका छन् । जनगणनामा उनीहरुले आफ्नो जन्मस्थान भारत भएको उल्लेख गरेका छन् ।
यो संख्या २०१६ देखि ४७.९ प्रतिशत अर्थात् २ लाख २० हजारले बढेको पाइएको छ । सन् २००६ मा होवार्ड सरकारले भारतीय विद्यार्थीहरूलाई अष्ट्रेलियामा व्यावसायिक तालिम पूरा गर्न विद्यार्थी भिसा लिन प्रोत्साहन गर्न भारतसँग एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि अष्ट्रेलियामा भारतीयहरूको संख्या बढेको आँकलन गरिएको छ ।
यहाँ बसोबास गर्ने सबैभन्दा धेरै व्यक्ति अष्ट्रेलियामै जन्मिएका छन् । इंगल्याण्डमा जन्मिएका दोश्रो नम्बरमा पर्दा तेश्रोमा भारत जन्मस्थान भएकाहरु रहेको पाइएको छ ।
कोभिड–१९ यात्रा प्रतिबन्धको बाबजुद विगत पाँच वर्षमा १० लाखभन्दा बढी आप्रवासीहरू अष्ट्रेलिया आइपुगेको तथ्यांक संकलन भएको छ । गत मंगलबारको जनगणना तथ्याङ्कले सांस्कृतिक विविधता, भाषा र धर्मको बारेमा सबैभन्दा अद्यावधिक जानकारी गराएको छ ।
पछिल्लो जनगणनाले अष्ट्रेलिया व्यापक रूपमा बहुसांस्कृतिक राष्ट्र भएको देखाएको छ । आधा अष्ट्रेलियालीहरूका आमाबुबा विदेशमा जन्मिएका छन् ।
जन्मदेशका आधारमा पछिल्लो ५ वर्षमा नेपालमा जन्मेका नागरिकहरूको सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ । २०२१ सम्म अष्ट्रेलियामा ७० हजार नेपालीहरू थपिएका छन् ।
२०१६ बाट यो संख्या १२३.७ प्रतिशतले बढेको जनगणनाले देखाएको छ । पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा नेपाल जन्मस्थान भएका १ लाख २२ हजार ५०६ जना नेपालीहरू बसोबास गरिरहेका छन् ।
२०१७ देखि अधिकांश नेपाली आप्रवासीहरू दक्ष राज्य र साझेदार भिसामा आइपुगेको गृह विभागको तथ्याङ्कले देखाएको छ । नेपालीहरू नर्सिङ, लेखा र कुक पेशामा बढी आवद्ध हुने गरेको पाइएको छ ।
बिजनेश डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारी अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा नेपालबाट आएर संघर्ष गर्दै सफल हुनेहरुको संख्या बढेको बताउनुहुन्छ । नेपालमा करियर बनाउन ठूलो संघर्ष गर्ने नेपालीहरूका लागि अष्ट्रेलियाले अवसर प्रदान गरेको उहाँको दाबी छ ।
अष्ट्रेलियामा धार्मिक विविधता पनि बढिरहेको पाइएको छ । पछिल्लो ५ वर्षमा अष्ट्रेलियामा हिन्दु धर्म मान्नेहरुको संख्या ५५.३ प्रतिशतले बढेको पाइएको छ ।
अहिले अष्ट्रेलियामा हिन्दु धर्मसँग आस्था राख्नेहरूको संख्या ६ लाख ८४ हजार २ पुगेको छ । २०२१ को जनगणना अनुसार यो संख्या कुल जनसंख्याको २।७ प्रतिशत हो । अन्य धर्मावलम्बीहरु समेत बढिरहेको अष्ट्रेलियामा धेरै धर्म संस्कृतिको विकास र विस्तार भैरहेको छ ।