टोकियो ।
लभ होटलमा वृद्धाको हत्या गरेको अभियोगमा प्रहरीहरुले एक युवतिलाई पक्राउ गरेका छन् । टोकियोका सरकारी अभियोजनकर्ताहरुले ८२ वर्षिय पुरुषलाई लुटपाट गरेर हत्या गरेको अभियोगमा २४ वर्षिय हारुका फुजीमाथि अभियोग चलाएका छन् । फुजीले साइतामा शहरका कात्सुजो कोनोलाई इकेबुकुरोको एउटा होटलको १० औं तलामा छुरा प्रहार गरेको अभियोगमा बताइएको छ ।
यो घटना जनवरी २१ मा राति १० बजेतिर भएको फुजी टिभीले बताएको भन्दै जापान टुडेमा समाचार छापिएको छ । घटनास्थलमा प्रहरीहरु पुग्दा कोनो नग्न अवस्थामा थिए । उनको छाती र तिघ्रामा छुरा प्रहार भएको थियो । घटनास्थलमै उनी मृत पाइएको थियो । कोनोको पर्स रित्तो पाइएको र कोठामा छुरा पनि फेला नपरेको प्रहरीले बताएको छ ।
सर्भिलियन्स क्यामराको फुटेज हेर्दा घटना भएकै दिन साँझ ८ः१० बजेतिर कोनो फुजीको साथमा होटलमा चेक इन गर्दै थिए । एक घन्टापछि फुजी होटलबाट बाहिर आएर दुई पुरुषलाई भेटिन । साँझ ९ः४५ बजेतिर प्रहरीलाई एउटा महिलाले फोन गरेर होटलमा नराम्रो घटना भएको जानकारी दिइन् ।
प्रहरीले फुजी र अर्का दुई पुरुषलाई भोलिपल्ट पक्राउ गरेको थियो । ती दुई पुरुषमाथि हत्याको अभियोग चलाइएको छैन । हत्याको सबै योजना फुजीको भएको ती पुरुषले दाबी गरेको प्रहरीले बताएको छ ।



