काठमाडौँ : प्रहरीले उच्च अदालत पाटनबाट एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार एकजनालाई मङ्गलवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङ रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।
घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो । घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए । रासस