गैँडाकोट : नारायणगढ-मुग्लिन -पोखरा सडक खण्डमा पटक-पटक जाने पहिरोले यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् ।
घण्टौ सडकमा रोकिनुपर्ने, पहिरो हटाउने एवं सडक मर्मत लगायतका कारण सडक अवरुद्ध समेत हुने गरेकाले विकल्पका खोजी भईरहेका छन् ।
पोखरा जोडिनका लागि गैँडाकोटदेखी पाल्पाको कालिगण्डकी कोरिडोरलाई विकल्पका रुपमा हेरिएको छ ।
मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा बाटो एकतर्फी सञ्चालनमा रहेको छ । सडकमा घण्टौँ रोकिनुपर्दा यात्रुहरुले अर्को बाटो हुँदै यात्रा गर्न थालेका छन् ।
नारायणगढ पुलचोकदेखी २ किलोमिटर पश्चिम गैँडाकोटको कालिगण्डकीचोकदेखी ढोडेनी हुँदै पाल्पा रामपुर पिपलडाँडा हुँदै यात्रा गर्न सकिने छ । कालिगण्डकी कोरिडोर निर्माणका क्रममा रहेको छ ।
कालिगण्डकी चोकदेखी ढोडेनीसम्म करिब ५ किलोमिटर कच्चि सडक त्यसपछि करिब ४ किलोमिटर कालोपत्रे गर्ने तयार अवस्थामा रहेको छ । भोक्रोफाँटदेखी कालोपत्रे सडकमा यात्रा गर्न सकिने गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । अहिले पनि नियमित यात्रुबाहक बस सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामिण सडक हो, वर्षामा केही समस्या हुन सक्छ तर अहिले नियमित यात्रुबाहक बस सञ्चालनमा रहेका छन् ।”
ढोडेनी क्षेत्रमा रुख कटानमा केही समस्या रहेका कारण कोरिडोरले पूर्णता पाउन सकेको छैन । यद्यपी कोरिडर सहज र विकल्प मुग्लिन पोखराको विकल्प हुने यात्रु एवं चालकहरु बताउँछन् ।