काठमाडौं : नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ककनी पुगेको छ ।
साँझ ६ः३३ मा हेलिकप्टर काठमाडौंबाट ककनी गएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए ।
उनका अनुसार हेलिकप्टरमा विपद व्यवस्थापनसहितको टोली गएको छ । अहिले ती व्यक्तिको उद्धार गर्ने प्रयास भइरहेको सिलवालले जानकारी दिए ।
ऊर्जामन्त्री पम्फा भुसालले ती व्यक्तिको उद्धार गरिदिन नेपाली सेनालाई आग्रह गरेकी थिइन् ।
बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका छैनन् ।
६० मेगावाटको त्रिशुली थ्री–ए आयोजना नै बन्द भएको छ । ती व्यक्ति चढेको पोलमा त्रिशुली थ्री–ए आयोजनाबाट काठमाडौंमा विद्युत ल्याइएको २२० केभी प्रसारण लाइन जडान भएको छ । उक्त प्रसारण लाइनमा डबल सर्किट छ ।