काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा अडिग हुन नसक्नु घातक हुनसक्ने बताउनुभएको छ ।
अमेरिकी सहायकमन्त्रीले नेपालमा रहेका शरणार्थी शिविर र गुम्बा/गुम्बाको भ्रमण गरेकोमा आपत्ति जनाउनुभयो ।
सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिंदै ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाउनुभयो ।
उहाँले अघि भन्नुभयो, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ?
कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’ भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लगातार झपार्नुभयो ।
उहाँले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गर्नुभयो । ‘कति लाचारी ? सत्ता कति प्यारो ? वात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’
उहाँले भन्नुभयो,’गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । तपाईंहरूको तीन दिन कामज्वरो हट्दैन । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’
सरकारलाई अस्थायी, म्यादी सरकार भन्दै आलोचना गर्दै उहाँले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताउनुभयो ।
नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उहाँले छद्म नीति नलिन आग्रह गर्नुभयो ।
ओलीले अघि भन्नुभयो, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ?
सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’