काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)ले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने वताउनुभएको छ ।
जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न उहाँले आग्रह पनि गर्नुभएको छ । बालेनको अग्रताभन्दा गन्न बाँकी रहेको मत कम भएपछि उहाँको जित सुनिश्चि भएको हो ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।
बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ ।
काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उहाँले जित्नुहुनेछ ।
आफ्नो जित सुनिश्चित भएपछि बालेनले विजयी जुलुस ननिकाल्ने र घोषणापत्रमा समेटिएको विषय लागु गरेको दिन सबै मिलेर विजय उत्सव मनाउने वताउनुभएको छ ।