सबैभन्दा चर्चा र चासोमा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । भरतपुरको मेयरमा सत्ता गठबन्धनकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका सुवेदी गठबन्धनकी उम्मेदवार दाहालभन्दा तीन हजारभन्दा बढी मतले पछाडि परेका छन् । पछिल्लो मतपरिणामबारे एमालेका मेयर उम्मेदवार सुवेदीसँगको कुराकानी
मतगणना जारी रहँदा तपाईं धेरै मतान्तरले पछाडि पर्नु भएको छ । पछिल्लो मतपरिणामबारे यहाँको विश्लेषण के छ ?
महानगरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको छ । त्यसमध्ये अहिले ३८ हजारभन्दा बढी मतगणना भएको छ ।अरु बाँकी नै छ । त्यसकारण उतारचढाव भइहाल्छ । अगाडि बढ्ने पछाडि हट्ने भई नै हाल्छ ।
भरतपुर वडा नम्बर ७ को नतिजालाई तपाईं उम्मेदवारका हिसाबले कसरी मूल्यांकन गर्नुहुन्छ ?
मेरो विचारमा अहिले मतान्तरको हिसाबले अहिले मेरो मत घट्दै नै जान्छ १० नम्बर वडासम्म । ११ र १२ मा सूर्यलाई आउने मत बढ्छ । त्यसपछि १३, १४ र १५ वडामा फेरि केही घट्छ । त्यसपछि १६, १७ र १८ लागेपछि लगातार बढ्छ र अन्त्यमा हाम्रो पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ ।
अहिले एमालैकै मत पनि क्रस भएको देखिन्छ । यहीँ कारणले तपाईंले भनेजस्तो मत नआउने हो कि भन्ने लाग्दैन ?
पहिले र अहिलेको गठबन्धनमा फरक छ । पहिलेको गठबन्धनमा वडामा तालमेल भएको थिएन । पहिलेको निर्वाचनमा वडा-वडामा प्रतिस्पर्धा भएको थियो । वडा-वडामा प्रतिस्पर्धा भएकाले त्यहाँ मेयर र उपमेयरमा तलको वडाको पोजिसनका आधारमा भोट दिने कि नदिने भन्ने कुरा हुन्थ्यो । यो पटक चाहिँ गठबन्धनका साथीहरूले वडातहसम्म तालमेल गर्नुभएकाले मत तलमाथि भएको छ । विशेषगरी हाम्रो मत चाहिँ हामीले राप्रपासँग तालमेल गर्दा राप्रपाको हलो चिह्न अर्कोपट्टि धेरै तल हुँदा कन्फ्युज हुँदा माथि पनि मेयरलाई तल पनि मेयरलाई यस्तो मत धेरै देखिन्छ । विभिन्नखाले मत छन्, त्यसकारणले मतदानसम्बन्धी शिक्षा अलिक अपुग भएको जस्तो देखिन्छ । तर, त्यसमा धेरै ठूलो प्रतिशत त्यस्तो छैन ।
वडामा व्यक्तिगत रूपमा गठबन्धन गरेजस्तो पनि देखियो, जस्तो एउटा भोट हँसिया हथौडा अर्को सूर्यमा हालेको पनि देखियो । तपाईंलाई आउनुपर्ने मत आएन जस्तो लाग्दैन ?
IslingtonISMT
गठबन्धन नै त होइन, तर विभिन्न रोजाइ हुन्छन् । कतिपय वडाध्यक्षलाई रोजाइ हुन्छन् कतिपय सदस्यमा । कतिले जितेका छन् कसैले हारेका छन् । विभिन्न प्रकारको रोजाइ हुन्छ । त्यसकारण वडामा गठबन्धन नै थियो, तालमेल थियो अथवा मिलेका थिए भनेर अर्थ निकालेर बुझ्नु हुँदैन ।
पाँच दलीय गठबन्धनले तपाईंको मत चोरिरहँदा तपाईंले पनि त्यसैगरी चोर्नुभएको छ कि छैन ?
हाम्रो त्यस्तो मत छैन । कतिपय व्यक्तिगत रूपमा विभिन्न राजनीतिक पार्टीका साथीहरूले मलाई दिने मत पनि आएका छन् । कतिपय मलाई दिने मत पनि गएका छन् । यो त स्वाभाविकै कुरा हो जस्तो लाग्छ । किनभने यो रोजाइमा सबै मान्छे पार्टीको हिसाबले संगठित भएर जति जना सदस्य छन्, त्यहीँ मात्रै गनेर र त किन चुनाव गर्नुपर्यो र ! त्यसकारण व्यक्तिको पार्टी पनि हुन्छ, व्यक्तिको आफ्नो रोजाइ पनि हुन्छन् । यी सबै कारणले मत तलमाथि हुन्छ ।
छिटपुट घात अन्तर्घात केही देख्नुभएको होला नि मतगणना स्थलमा बस्दा ?
मैले त्यस्तो रूपमा लिएको छैन । मतदानमा विभिन्न कुराको प्रभाव पर्न सक्छ । नातागोता, सरसम्बन्ध र अरु विभिन्न प्रशासनिक दबाब पर्न सक्छ र आर्थिक चलखेल त कति थियो भन्ने कुरा त रातरात हाम्रो साथीहरूले गाडी पनि समात्नुभएको थियो । गीतानगरमा एक ठाउँमा मात्र समाइएको हो, अरु ठाउँमा त उहाँहरूको (गठबन्धन) बीचमा पैसा बाँड्ने गाडी हुन्छ अगाडि, पछाडि पुलिसको गाडी हुन्छ, पचासौँ करोड खर्च गरियो भन्ने कुरा आएका छन् । त्यो सबै कुरा के कस्ता हुन् भन्ने भोलि समीक्षामा आउला, त्यसको केही प्रभाव पनि मतदानमा पर्यो होला । मेरो विचारमा सार्वभौम सत्ता सम्पन्न नागरिकहरूले जुन मतदान गर्नुभएको छ, बाक्सामा छ त्यो बाक्साको मत जस्ताको तस्तै मतगणना भएर बाहिर आउँछ । त्यो हाम्रो पक्षमा आउनेमा हामी विश्वस्त छौँ ।
कांग्रेसको बागी उम्मेदवार जगन्नाथ पौडेलजीको चुनाव चिह्न भुइँकटहरमा अहिले जुन मत आइरहेको छ, त्यो मत आइरहँदा तपाईंको अग्रता हुनुपर्ने हो खासमा तर तपाईंको अग्रता किन बढेन ?
अघिल्लो पटक दिनेश कोइरालाजीको उम्मेदवारी जबर्जस्ती खोसिएको थियो । तर, यो पटकको गठबन्धन लामो समयको प्रक्रियामा भएको र राष्ट्रव्यापी एक प्रकारको कोर्ष पूरा गरेर आएकाले मेरो विचारमा चितवनको राजनीतिक हिसाबले त्रिकोणात्मक शक्ति सन्तुलन नै हो । यहाँ एमाले, कांग्रेस र माओवादी त्रिकोणात्मक शक्ति सन्तुलन हो । यो शक्ति सन्तुलनमा कांग्रेसका साथीहरू जगन्नाथजीले जुन हिसाबले उम्मेदवारी दिनुभएको छ । कांग्रेसको एक तप्कालाई त त्यसले समेटेको छ तर सम्पूर्ण तप्कालाई त्यसले समेट्न सकेन । अर्को तप्का त फेरि माओवादीसँग गठबन्धनमा छ नि ।
मतलब तपाईंहरूलाई उल्टै घाटा लाग्यो उहाँको उम्मेदवारीले ?
जगन्नाथजीलाई जाने सर्लक्कै मत हामीलाई पो आउँथ्यो कि ! तर, सत्ता गठबन्धनको विपक्षको जुन मत छ । पाँच दलीय गठबन्धन नचाहने र भरतपुर महानगरको विकासलाई नयाँ कोर्षबाट अगाडि लैजान चाहने कांग्रेसको जुन शक्ति थियो त्यो शक्तिको मत अहिले जगन्नाथजीलाई गयो । जगन्नाथजी नउठ्नुभएको भए त्यो मत हामीलाई आउँथ्यो । जसले भरतपुर महानगरको साँचो विकास चाहन्थे, यथास्थितिवादलाई तोड्न चाहन्थे, त्यो मत पनि जगन्नाथजीलाई गयो । जसले मलाई थोरै मत घाटा भएको हुन सक्छ । यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । तर, अहिले नै सबै कुराको विश्लेषण गर्ने बेला भएको छैन, अझै ८५-९० हजार मत गन्नै बाँकी छ । त्यसले अन्तिम समयसम्म जाँदा हाम्रो पक्षमा मत आउँछ भन्ने मलाई विश्वास छ ।
मतगणना अन्तिमसम्म शान्तिपूर्ण तरिकाले हुन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
मुख्य कुरा मतगणना शान्तिपूर्ण हिसाबले होस् र स्वच्छ हिसाबले मतपरिणाम आओस् भन्ने हो । निष्पक्ष हिसाबले भएको निर्वाचनलाई सबैको साथ सहयोग रहन्छ । परिणामलाई सबैले स्वीकार गर्छन् । भोलि महानगरको विकासका लागि हामी सबै मिलेर जाने वातावरण बन्छ । गएको पाँच वर्ष त्यति राम्रो सम्बन्ध हुन सकेन । किन हुन सकेन भने गएको निर्वाचनमा मतगणनामा जुन प्रकारको प्रक्रिया भयो त्यसको तुष पाँच वर्षसम्म रहिरह्यो । यो निर्वाचनमा त्यस्तो नहोस् । हामी शान्तिपूर्ण तरिकाले आऔँ । निर्वाचनको परिणाम त केही दिनपछि आइहाल्छ । त्यसपछि पाँच वर्षपछि हामीले भरतपुरको महानगरको विकास गर्नुछ । भरतपुरलाई आर्थिक हिसाब पनि केन्द्रभागमा राखेर काम अगाडि बढाउनुछ । सबैले सहज ढंगले काम गर्नुपर्ने वातावरण बन्नुपर्नेछ । म महानगर प्रमुख हुँदा पनि अरुले सहयोग गर्ने वातावरण बन्नुपर्छ र अरु हुँदा पनि सबैले सहयोग गर्ने वातावरण बन्नुपर्छ । मेरो विचारमा अब गन्न बाँकी रहेको मत हाम्रो पक्षमा आउनेछ र महानगर प्रमुखको जिम्मेवारी महानगरवासीले दिनुभएको छ भन्ने विश्वास छ ।