काठमाडौ : निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका नेतासँग स्पष्टीकरण सोधेको छ ।
भृकुटीमण्डपमा नेकपा एसले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन भन्दै कांग्रेसका नेता डा. शशांक कोइरालालाई निवेदन लेखेको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे सो पार्टीसँग स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।
यसैगरी निर्वाचन आयोगले निर्वाचन खर्च विवरणबारे स्पष्टीकरण दिन नेपाली कांग्रेसका नेता कोइरालालाई स्पष्टीकरण सोधेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो ।
कोइरालाले हालै नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नुपरेको बताउनुभएको थियो ।