काठमाडौ : नेपालमा अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने औपचारिक तयारी भएको छ ।
आइतबार सरकारी बिदा दिने विषयले मन्त्रिपरिषदमा नै प्रवेश पाएको छ । मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदालाई सातामा दुई दिन दिने नेपाल आयल निगमको प्रस्तावबारे छलफल भएको हो ।
सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै निगमले उक्त प्रस्ताव अघि सारेको थियो ।
प्रतिनिधि सभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ले समेत इन्धन खपत कम गर्न जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न सकिने विषयमा छलफल गरेको थियो ।
‘छलफल हुँदा निर्णय गर्ने विषयमा सहमति भएको छ’ एक मन्त्रीले जानकारी दिनुभयो ‘तर, अरू सार्वजनिक बिदा घटाएर दुई दिन बिदा गर्ने भन्ने छ’ । अहिले अरु बिदा घटाउने विषयमा छलफल चलिरहेको छ ।
यस अघिसमेत प्रस्ताव गरिएको सातामा २ दिने बिदाको विषयले पुनः प्रवेश पाएको हो ।