काठमाडौ : बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी एक फरार महिला प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– ६ घर भई हाल भक्तपुर कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गी रहेकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राधालाई सोमबार भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो।
राधाले सानिमा बैंक लिमिटेड, सुर्यविनायक शाखाको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई चेक दिएकी थिइन्। तर उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै बैंकले फर्काइदिएपछि पीडितले प्रहरीमा जाहेरी दिइन्।
यो विषयमा प्रहरीले पाटन उच्च अदालतमा मुद्दा चलाएको थियो। अदालतले राधालाई १९ लाख जरिवाना र ५ दिन कैद हुने फैसला २०७७ साउन २० गते सुनाएको थियो।
फैसला कार्यान्वयनका लागि पक्राउ परेकी राधालाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन्।