काठमाडौं : अभिनेता राजेश हमालले राजनीतिमा आउने इच्छा व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरको सौन्दर्यीकरणमा कसैको ध्यान पु्ग्न नसकेको बताएका हुन् ।
राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षकको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको उल्लेख गरेका हुन् ।
काठमाडौं सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उनको बुझाई छ । नेताहरुले काम भन्दा कुरा धेरै गरेका कारण काठमाडौं बन्न नसकेको उनको विचार छ ।
भिडियोमा हमालले भनेका छन्, ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो !’ तपाईंलाई जानकारी गराउ कि सरकारले आउँदो वैशाख ३० गते एकैचरणमा स्थानीय तहको चुनाव गर्दैछ ।
त्यसैअनुसार निर्वाचन आयोगले मतपत्र छपाईलगायतका काम अगाडि बढाइसकेको छ ।
चुनाव नजिकिँदै गर्दा विभिन्न व्यक्तिले आफूलाई उम्मेदवारका रूपमा उभ्याउने क्रममा हमाल पनि आएका हुन् ।
यसअघि र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् ।