बाँकेमा आइतबार दिउँसो बाघले फेरि एक युवकमाथि आक्रमण गरेको छ। बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका ३० वर्षीय वकिल गद्दी बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए। स्थानीय मन्डफवा सामुदायिक वनमा गाईवस्तु चराउन लगेका गद्दीलाई घाँस दाउरा खोज्दै गर्दा आइतबार मध्यान्ह १२ बजेतिर एकाएक बाघले आक्रमण गरेको थियो।
एक्कासि बाघले आक्रमण गरेपछि केहीबेर उनी बाघसँग भिडेका थिए। तर, बाघले उनलाई भुइँमा लडाएर घाँटीबाट रगत चुस्न थालेपछि सँगै रहेका अन्य गोठालाले होहल्ला गरेपछि बाघ भागेको थियो।
घाइते पनि केहीबेर भिड्नु भयो तर उहाँलाई लडाएर घाँटी अठ्याएपछि उहाँ बेहोस हुनु भएको रहेछ डिएसपी न्यौपानेले भने ।
बाघको आक्रमणबाट गद्दीको घाँटीमा प्वाल परेका छन्। प्रहरी प्रवक्ता न्यौपानेले घाइते गद्दीको अहिले होस आएको र उनी बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिए।
शनिबार बिहानमात्रै जंगलमा घाँस दाउरा लिन गएका राप्ती सोनारी ६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृ,त्यु भएको थियो।