सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सभाखोलामा ‘ब्रेक फेल’ भएर ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तुम्लिङटारबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०–३००१ ख ४३० नम्बरको ट्रक सभाखोलाको घुम्तीमा दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा गोरखा नगरपालिका–४ घरभएका चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार, मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्किने क्रममा आज बिहान करिब ७ बजेतिर ट्रक दुर्घटनामा परेको हो ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याउने तयारी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।