चितवन : हालको अवस्थामा अस्पतालको सेवा प्रभावित हुन थालेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढ्दै गएपछि सेवा प्रभावित भएको हो ।
कोरोनाले भयावह रुप लिन थालेपछि भरतपुर अस्पतालले आकस्मिक(इमर्जेन्सी) सेवा वाहेक जनरल ओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार जनरल ओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जनरल ओपिडि सञ्चालन गरेको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएको छ । दैनिक यो संख्या बढ्दो क्रममा छ । अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि पालैपालो गरेर व्यवस्थापन गरिएको उहाले बताउनुभयो ।अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झैं सञ्चालन गर्न नसकिएको उहाको भनाइ छ ।
स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले स्वास्थ्य संस्थामा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताउनुभयो ।
यस्तै अवस्था रहेमा संक्रमितले संक्रमितको उपचार गर्नुको विकल्प नरहने उहाको तर्क छ ।
जिल्लामा संक्रमितको संख्या दुई हजार ७३६ जना पुगेको छ । त्यसमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा रहेका छन् ।