नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा आयोजक गैँडाकोट मेयर्स ११ ले विजयी शुरुआत गरेको छ ।
गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा आज दिउँसो भएको उद्घाटन खेलमा गैँडाकोट मेयर्स ११ ले कर्णाली प्रदेश विरुद्ध ६ विकेटले जित हासिल गरेको हो । कर्णालीले दिएको १२० रनको चुनौती मेयर्स ११ ले १० दशमलव तीन ओभर खेल्दै चार विकेटको क्षतिमा पूरा गर्यो । यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कर्णालीले १९ दशमलव चार ओभर खेल्दै १० विकेटको क्षतिमा ११९ रन बनाउन सफल भएको थियो ।
मेयर्स ११ को जितका लागि सन्नि बिकले ३१ बलमा चार छक्का र आठ चौका सहित ६३ रनको योगदान दिए । त्यस्तै दीपक बोहोराले १८ बलमा दुई छक्का र चार चौकासहित ३० रन बनाउन सफल भए । प्रतियोगितामा गौरव विश्वकर्मा र अविशेक थापाले अविजित आठ रनको पारी खेले ।
प्रतियोगितामा कर्णालीका खेलाडी अर्विन्द घर्ती मगरले दुई तथा दीवान पुन र राजप्रसाद शाहले एक/एक विकेट लिन सफल भए ।
सुरुआती ब्याटिङमा उत्रिएको कर्णालीका ब्याटर मनिष थापाले २३ बलमा दुई छक्का र तीन चौकाको सहायताले ३१ रनको योगफल तयार पारे । त्यस्तै राजप्रसाद शाहले २०, दिवन पुनले १४, दीपेन्द्र रावतले १२ तथा हिमांशु शाहीले १२ रनको योगफल तयार पार्दा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा चन्द्रकान्त पौडेलले तीन तथा अविनाश गौतमले दुई विकेट लिए ।
जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् । प्रतियोगिता आयोजक संस्था नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको म्यान अफ दी सिरिजले रु २५ हजार, उत्कृष्ट ब्याटर, बलर, फिल्डर तथा किपरले रु १५ हजारका दरले पुरस्कार पाउने छन् ।
त्यस्तै, बेस्ट क्याच अफ दी टुर्नामेन्टले रु १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले रु पाँच हजार एवम् नव प्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाले जानकारी दिनुभयो ।




