नवलपुर, १ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय जनताले माओवादी केन्द्रलाई भरोसा गर्दै गएका बताउनुभएको छ । आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई भरोसा गर्दै गएको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको बताउनुभयो । अहिले माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भन्दै उहाँले हालसम्म लाखौँ जनताको सहभागीता रहेको बताउनुभयो । “अभियानका क्रममा मैले सहिद परिवार, बेपत्ता परिवार, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु” अध्यक्ष दाहालले भन्नुभयो, “यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई पनि नजिकबाट बुझ्ने कोशिस गरेको छु ।”
जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोशिस गर्दा माओवादी केन्द्र नै राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र जनताको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले एकपटक नजिकबाट बुझ्ने अवसर पाएका दाहालले बताउनुभयो । अभियानका क्रममा भेटिएका बालबालिका, युवायुवती, वृद्धवृद्धा सबैमा माओवादी केन्द्रप्रति भरोसा बढेको उहाँले बताउनुभयो । जनताको यही बुझाइ आफूहरुका लागि एउटा ठूलो उर्जा तथा एउटा ठूलो शक्ति भएको दाहालले बताउनुभयो ।