काठमाडौं, चैत २१-
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिनका लागि मेयर बालेन शाहलाई चेतावनी दिएकी छिन् ।
उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बसेको बैठकमा ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ बैठकमा उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झटपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’
यस्तो मनमुटाव संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उनले बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’
बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो । नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए ।