नवलपुर (नवलपरासी), १२ चैत ः चैत ८ गतेबाट सुरु भएको कक्षा ८ को आधारभूत तह परीक्षामा गैँडाकोटमा एकजना किरियापुत्री सहभागी भएका छन् ।
गैँडाकोट–१ मा रहेको नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयमा अध्ययनरत १६ वर्षीय दिवस विके किरियापुत्रीको रुपमा परीक्षामा सहभागी भएका हुन् । हिन्दू संस्कारअनुसार किरियापुत्री बसेको व्यक्ति अन्य मानिससँग छोइन नहुने मान्यताका साथ उनी अन्य विद्यार्थीका बीचमा नभइ फरक कोठामा बसेर परीक्षा दिइरहेका छन् । विकेले परीक्षा केन्द्र परेको विद्यालयको कम्प्युटर प्रयोगशालामा बसेर परीक्षा दिइरहेका छन् ।
सेतो पहिरनमा एक्लै बसेर परीक्षा दिँदा नरमाइलो असहज लागेपनि परीक्षा राम्रो भएको विकेको भनाइ छ । उनले गैँडाकोट–५ स्थित गैँडाकोट नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
– टेकराज पोखरेल
राष्ट्रिय समाचार समिति (रासस)