पोखरा, फागुन २०- गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका छन् । बालेनले प्रधानमन्त्री केपी ओली लक्षित फेसबुक स्टाटस लेखेपछि पाठकले ‘काउन्टर अट्याक’ गरेका हुन् ।
पाठकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनप्रति आक्रोश पोखे । ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने,’ उनले भने, ‘बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ?’
उनले नियम विपरीत नचल्न बालेनलाई सुझाए । ‘हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ,’ उनले थपे, ‘चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।’