चितवन, फागुन ९– भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत जारी लिग चरणमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गरेसंगै सेमीफाइनल सम्भावना बलियो बनेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको खेलमा चितवन माविले साविक उपविजेता वाल्मीकि शिक्षा सदनलाई ४ विकेटले पराजित गर्दै ३ खेलमा ४ अंक बनाएर सेमीफाइनल संभावना बलियो बनाएको हो । चितवन माविले अब लिग चरणको अन्तिम खेलमा नारायणी इङलिस पब्लिक स्कुलसंग भिड्ने छ । उक्त खेलको विजयी भए चितवन मावि सिधै सेमीफाइनलमा प्रवेश गर्नेछ भने पराजित भएमा नारायणी पब्लिक, वाल्मीकि शिक्षा सदन र चितवन मावि मध्ये नेटरनरेटको आधारमा एक टोली सेमीफाइनलमा पुग्ने छ । समूह ‘ए’बाट समान ३ खेलमा जित निकालेको साविक विजेता अर्किड एक खेल अगावै सेमीफाइनल स्थान सुरक्षित गरि सकेको छ । अर्किडले अन्तिम खेलमा समूहको पुछारमा रहेको हिमालय दण्डपानी माविसंग खेल्नेछ । हिमालय लिग चरणमा जितविहिन रहेको छ ।
साविक उपविजेता वाल्मीकि शिक्षा सदन टस जितेर ब्याटिङ गर्दै चितवन मावि समक्ष १८.५ ओभरमा अलआउट हुँदै ९२ रनको झिनो लक्ष्य पेश गरेको थियो । वाल्मीकिका लागि समिर न्यौपानेले ३१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । चितवन माविका वेद प्रकास शाहले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिए । पवन महतोले २ विकेट लिए ।
९२ रनको लक्ष्य पछ्याएको चितवन मावि १५.४ ओभरमा ६ विकेट गुमाउँदै जित हात पार्यो । उसका लागि अजित यादवले २४ बलमा ४० रनको विष्फोटक पारी खेले । उमाशंकर यादवले २१ रन बनाए । वाल्मीकिका माधव सापकोटाले ३ र दिप्सन गौडेलले एक विकेट लिए । चितवन माविका वेद प्लेयर अफ दि म्याच घोषित भए ।
भरतपुर महानगरपालिकाको आयोजनामा गत पुसदेखि सुरु भएको प्रतियोगितामा छनोट चरण पार गरेका टिमहरुलाई लिग चरणमा खेलाइएको हो । छनोट चरणबाट ६ टिम लिग चरणमा प्रवेश पाएका थिए भने पहिलो संस्करणका सेमीफाइनल पुगेका ४ टिमलाई सिधै लिग चरणमा स्थान दिईएको हो । लिग चरणका खेलहरु रातो बल र सेतो जर्सीमा ३० ओभर खेलाईदैछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने समूहका शीर्ष दुई टिम सेमीफाइनलमा स्थान बनाउने छन् ।