गैँडाकोट: गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार गैँडाकोट आधारभूत अस्पतालको निरीक्षण गर्दै अस्पतालको सेवा सुविधा थप सुदृढ पार्ने प्रतिबद्धता जनाउनुभएको छ। अवलोकनका क्रममा मन्त्री पाठकले अस्पतालको वर्तमान अवस्थाबारे जानकारी लिँदै आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार दृढ रहेको बताउनुभयो।
निरीक्षणका क्रममा मन्त्री पाठकले अस्पतालको सेवा विस्तारका लागि एक जना चिकित्सक तत्काल उपलब्ध गराउने तथा अस्पतालको आवश्यकताअनुसार ल्याब उपकरणहरू उपलब्ध गराउने आश्वासन दिनुभयो। उहाँले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै “स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकार निरन्तर लागिपर्नेछ” भन्नुभयो।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदन भक्त अधिकारीले नगरवासीलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो। “नगरपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ। आधारभूत अस्पतालको सेवा विस्तार गर्न हामी प्रदेश सरकारसँग सहकार्य गर्दैछौं,” मेयर अधिकारीले भन्नुभयो।
निरीक्षण कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, निवर्तमान नगरप्रमुख छत्रराज पौडेल, निवर्तमान उपप्रमुख विष्णुकुमारी कँडेल, स्वास्थ्यकर्मीहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक माधव आचार्यले सहजीकरण गर्नुभएको थियो।