नवलपुर, ४ फागुन । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । महासङ्घले भरतपुरको चौबीसकोठीमा रहेको नेशनल सिटी हस्पिटलको प्राविधिक सहयोगमा नवलपुरको बुलिङटारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
नवलपुरको विकट क्षेत्र मानिने बुलिङटारका बासिन्दाहरुको सुविधाका लागि स्वास्थ्य शिविर आयोजना गरिएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । शिविरमा नेशनल सिटी हस्पिटलका चिकित्सक डा. निर्मल लामिछाने, डा.भोलप्रसाद रौनियार, डा.किशोर उप्रेती, डा.युगेशराज पन्त, डा. मनिषा सुवेदीलगायतका चिकित्सक प्राविधिकहरुले सेवा दिनु भएको थियो । बालरोग, मधुमेहरोग, हाडजोर्नी, उच्च रक्तचाप, स्त्री तथा प्रसूती रोग, जनलर एवं न्यूरो सर्जरी, युरोलोजी लगायतका विधिमा परीक्षण गरिएको छ ।
सो अवसरमा तीन सय जना बिरामीको परीक्षण गरिएको थियो भने मधुमेह, रक्त समूह परीक्षण समेत निःशुल्क गरिएको छ । शिविरमा आएका बिरामीलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको अस्पतालका प्रशासक विक्रम अधिकारीले जानकारी दिनुभयो ।