नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गैँडाकोटले ३०औँ जनयुद्ध दिवस विशेष कार्यक्रमसहित मनाएको छ। पार्टी कार्यालय गैँडाकोटमा आयोजित औपचारिक कार्यक्रममा नेता तथा कार्यकर्ताको उपस्थितिमा दिवस मनाइएको हो।
कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्यालले देशको परिवर्तन र विकासमा माओवादी केन्द्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले इतिहासले परिवर्तनका लागि क्रान्ति आवश्यक रहेको देखाएको बताउँदै, माओवादीले देश र जनताको हितमा संघर्ष गर्नुपर्ने परिस्थिति रहेको विचार व्यक्त गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) गैँडाकोटका अध्यक्ष प्रकाश अधिकारीले जनताकै सक्रियताले देशको भविष्य कोर्ने बताउँदै, आजको व्यवस्था जनताको बलिदानकै परिणामस्वरूप स्थापित भएको उल्लेख गर्नुभयो। साथै, नागरिक र राष्ट्रिय विकासमा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रहेको उहाँको धारणा थियो।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण प्रसाद पराजुली, नगर इन्चार्ज कृष्ण सागर भट्टराई, नगर कमिटीका पदाधिकारीसहित विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान-प्रदान गरिएको थियो भने, नगर कमिटीका पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण माओवादी केन्द्र गैँडाकोटका सचिव अर्जुन पोखरेलले गर्नुभएको थियो।