कैलाली, पुस १३- परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताएकी छन् । दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको उनले बताइन् ।
शुक्रवार धनगढी विमानस्थलमा राखेको एक जिज्ञासामा परराष्ट्र मन्त्री डा देउवाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला, हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ ।”
यस्तै परराष्ट्र मन्त्री डा देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास समेत व्यक्त गरिन् । लिखित रुपमा ईजराईली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभए पनि जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उनको भनाई छ ।