नवलपुर, ९ पुस । नवलपुरको गैँडाकोट–१ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा ओपल पेस्ट कन्ट्रोल एण्ड क्लिनिङले निःशुल्क निसङ्क्रमण गरिदिएको छ । क्लिनिङले अष्ट्रेलीयाको प्रविधिबाट चितवन र नवलपुरका विभिन्न ठाउँमा कीरा तथा किटाणुको नियन्त्रणको काम गर्दै आएकोमा अपाङ्ग जीवन विकास संस्थामा निःशुल्क निसङ्क्रमण गरेको हो ।
संस्थामा मानसिक सन्तुलन गुमाएका ज्येष्ठ नागरिक र बालबालिका आश्रित रहेका भन्दै एकव्यक्तिको सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन निसङ्क्रमण गरिदिएको क्लिलिङका सञ्चालक मेघराज कँडेलले बताउनुभयो । “यस संस्थामा धेरै पटक आएको छु, असहाय व्यक्तिहरु आश्रित देखेँ र अहिले जाडोको समयमा नियमित व्यक्तिगत सरसफाइ गर्नसमेत कठिन हुन्छ” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा एकव्यक्तिमा रहेको किटाणु अन्य व्यक्तिमा सर्न सक्ने सम्भावना भएपछि यस ठाउँलाई निसङ्क्रमण गरेका हौँ ।” संस्थामा आइरहँदा यहाँ साङ्ला तथा माकुरासमेत देखिएका भन्दै यसको समेत निःशुल्क नियन्त्रण गरिदिने कँडेलले बताउनुभयो ।
ओपल पेस्ट कन्ट्रोल एण्ड क्लिनिङले पेस्ट रहित वातावरण निर्माण गर्नका काम गरिरहेको कँडेलको भनाइ छ । आफूहरुले धमिरा, मुसा, साङ्ला, माकुरा, माखा जस्ता कीराहरु नियन्त्रण तथा निर्मूल गर्ने अभियान नै सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । त्यस्तैगरी घरमा लगाएको टायल, मार्बल, सोफा, गलैँचा सफाइको काम समेत अष्ट्रेलीयन प्रविधिबाट हुँदै आएको उहाँको भनाइ छ ।
अपाङ्ग जीवन विकास संस्थाका सञ्चालक बालकृष्ण सापकोटाले आफ्नो संस्थालाई मेघराज कँडेलले संस्था स्थापनादेखि नै सहयोग गर्दै आइरहनुभएको बताउनुभयो । संस्थाले यसअघि यसरी निस्क्रमण नगरेको भन्दै सापकोटाले अबभने किटाणुहरु एकव्यक्तिबाट अर्को मान्छेमा सर्नसक्ने त्रासबाट मुक्त भएको बताउनुभयो ।