गैँडाकोट, १४ मंसिर । पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी महोत्सवमा आउने भएकी छिन् । सबै खाले गीत संगीतमा रुचाइएकी एवम् युवा पुस्ताबीच लोकप्रिय गायिका आज साँझ गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आउने भएकी हुन् ।
महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनकाअनुसार महोत्सवको समय थपिएसँगै आज गायिका चौहानलाई महोत्सव परिसरमा ल्याउन लागिएको हो । गायिका चौहानले महोत्सवमा आफ्ना चर्चित एवम् लोकप्रिय गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भट्टचनले जानकारी दिनुभयो । चौहानसँगै आज महोत्सवमा सलिना थापा मगर, दीपक खड्का, रम्झना रम्पाल, हरि खत्री र सगुन थापाको प्रस्तुती रहने भट्टचनले जानकारी दिनुभयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको भट्टचनले बताउनुभयो । नवलपुरलाई गण्डकी प्रदेशसँग जोड्नका लागि महोत्सवले ठूलो भूमिका खेल्ने भन्दै उहाँले नवलपुरको धार्मिक र पर्यटकीय सम्भावनाको खोजी र प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण बताउनुभयो ।