नवलपुर, ७ कात्तिक । धादिङको निलकण्ठ नगरपालिका–११ का वडा सचिव राजकुमार श्रेष्ठले सरकारी मोटरसाइकल दुरुपयोग गरेका छन् ।
श्रेष्ठले सरकारी मोटरसाइकल अनुमती नलिइ नवलपुर आएर कुदाइरहेका छन् । नगरपालिकाको बा २ ब ३९३१ नम्बरको पल्सर बाइक लिएर उनी नवलपुरको गैँडाकोटका विभिन्न क्षेत्रमा घुमिरहेका छन् । सरकारी मोटरसाइकलको पछाडि युवती राखेर घुम्दै गरेको अवस्थामा भेटिएका श्रेष्ठले पत्रकारलाई देखेपछि मोटरसाइकल कुदाएर भागेका थिए ।
नगरपालिकाका अनुसार उनी नवलपुरको गैँडाकोटका बासिन्दा हुन् । तर, उनले बिदाको दिनमा चलाउने गरी मोटरसाइकलको स्वीकृति नलिएका निलकण्ठ नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । अहिले नगरप्रमुख देश बाहिर रहेको भन्दै श्रेष्ठले सरकारी मोटरसाइकल दुरुपयोग गर्ने वडासचिव श्रेष्ठलाई आफूहरुले कारबाही गर्ने बताउनुभयो ।
स्रोतका अनुसार श्रेष्ठ दसैँ बिदामा घर आएका हुन् । तर, उनले मोटरसाइकल अनुमति नै नलिइ आएका छन् । उनी तिहार पछि मात्रै कार्यालय हाजिर हुने गरी बिदामा रहेको स्रोतको भनाइ छ ।