चितवन, १४ भदौ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ । शाखाको शुक्रबार भरतपुरमा बसेको बैठकले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, जोखिम पत्रकारिता पुरस्कार, स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवाष पण्डितले जानकारी दिनुभयो ।
बैठकले चौतारीका सदस्य स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको समेत घोषणा गरेको छ । कोषका लागि आवश्यक कार्यविधिसमेत बैठकले पारित गरेको पण्डितले बताउनुभयो । कोषमा जिल्ला अध्यक्ष पण्डितले रु १५ हजार सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सो रकम जम्मा गर्नुभएको हो ।
चौतारीले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार, जोखिम पत्रकारिता पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्दै आएकोमा यसवर्ष स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न लागेको पण्डितले बताउनुभयो । बैठकले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार वितरणका लागि पण्डितको संयोजकत्वमा डाक्टर तिलचन्द्र भट्टराई र नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्याल सदस्य रहनेगरि समिति निर्माण गरेको छ ।
बैठकले स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न शाखा अध्यक्ष पण्डितकै संयोजकत्वमा प्रेस चौतारी बागमती प्रदेश सहइन्चार्ज शालिग्राम नेपाल र नेपाल पत्रकार महासंघ चितवनका पूर्वसचिव नारायण सापकोटा सदस्य रहेको समिति तथा जोखिम पत्रकारिता पुरस्कार वितरणका लागि शाखा अध्यक्ष पण्डितको संयोजकत्वमा प्रेस चौतारी नेपाल चितवनका जिल्ला इन्चार्ज प्रतिमा सिलवाल र सचिव ध्रुवराज खनाल सदस्य रहेको समिति बनाएको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको खाता ग्लोबल आइएमइ बैंकमा शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षको हस्ताक्षर रहने गरि खोल्ने निर्णय गरेको छ ।
यसैबीच, बैठकले आगामी भदौ १९ गते बिहान देवघाटको वृद्धाश्रममा दर खुवाउने निर्णय गरेको छ । हरितालिका तीजको अवसर पारेर देवघाटको वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक तथा प्रेस चौतारीमा आबद्ध पत्रकार महिलाहरुलाई प्रेस चौतारी नेपाल चितवन शाखाले दर खुवाउने भएको हो । बैठकले प्रेस चौतारी नेपाल चितवन शाखाको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने, आगामी असोज महिनामा प्रेस चौतारीमा आबद्ध सदस्यलाई प्रशिक्षण दिने निर्णय गरेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।