चितवन, ५ भदौ । काठमाडौँबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रोबसमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर–२९ मा पर्ने १७ किलो भन्ने स्थानमा गुडिरहेको बा.प्र.०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा आज बिहान साढे दश बजेको समयमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन् ।
ढुंगाले लागेर नवलपुरको देवचुली नगरपालिका–१३ की ३० वर्षीय कल्पना परियारका ८ वर्षीया छोरी कविता र ५ वर्षीया छोरी कञ्चन परियारको हातमा चोट लागेको र अवस्था सामान्य भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले जानकारी दिनुभयो । ढुंगाले लागेर घाइते भएका दुवै बालिकाको भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको यादबको भनाइ छ । पहाडमाथिबाट खसेको ढुंगा माइक्रबसको अगाडिको सिसामा लाग्दा सिसा फुटेर माइक्रोमा सवार बालिकाहरुलाई चोट लागेको यादबको भनाइ छ ।