नवलपुर, १ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदिकाली गाउँपालिकाले करिब रु साढे छ करोड लागतमा प्रशासकीय भवन निर्माण गरेको छ । पालिकाले बौदिकाली–२ डेढगाउँमा रु छ करोड ३४ लाखको लागतमा तीन तले प्रशासकीय भवन निर्माण गरेको हो ।
आफ्नै प्रशासकीय भवन नहुँदा भाडामा बस्दै आएको पालिका यसैसाता नयाँ भवनमा सर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताउनुभयो । “पालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु नयाँ प्रशासकीय भवनबाट प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “२८ कोठा रहेको भवनमा एउटा आवाससहित कृषि, पशु, पूर्वाधार, स्वास्थ्य, शिक्षा, पञ्जीकरण एवम् पालिकाको सम्पूर्ण शाखा रहनेछन् ।”
भाडाको घरबाट सेवा प्रवाह गर्दा कठिन भइरहेको अवस्थामा आफ्नै भवन निर्माण भएपछि सबै सेवा सहजरुपमा प्रवाह गर्न सकिने उहाँको भनाइ छ । विसं २०७९ वैशाखमा सम्झौता भएर कामाख्या बिएम जेभी नुवाकोटले निर्माण गरेको भवन म्याद अगावै सकेको गाउँपालिकाका सबइन्जिनियर विजय कँडेलले जानकारी दिनुभयो ।
करिब चार सय ७० वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रशासकीय भवनको सबै काम सकिएको जनाउँदै उहाँले विद्युत् जडान गर्नमात्रै बाँकी भएको बताउनुभयो । विद्युत् जडान गरेपछि भवनमा सर्ने तयारी गरिएको भए पनि निर्माण कम्पनीलाई रु एक करोड ५६ लाख रकम तिर्न बाँकी रहेको कँडेलले जानकारी दिनुभयो ।
पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री हुनेगरी निर्माण गरिएको उहाँको भनाइ छ । “पालिकामा सबै प्रकारका सेवाग्राही सेवा लिन आउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “प्रायः सार्वजनिक कार्यालय अपाङ्गतामैत्री नभइरहेको अवस्थामा हामीले निर्माण गरेको नयाँ भवन अपाङ्गतामैत्री छ, सबै सेवाग्राहीले सहजरुपमा सेवा प्राप्त गर्न सक्नुहुनेछ ।” भवनमा विद्युत् प्रवाह सहज बनाउन एक सय ५० केभीएको ट्रान्सफर्मरसमेत जडान गरिएको उहाँको भनाइ छ । रासस