चितवन, २८ साउन । भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीहरुले देवघाटमा खानेपानी वितरण गरेका छन् । विद्यालयको कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले आज बिहान देवघाटमा खानेपानी वितरण हुन् ।
विद्यार्थीहरुलाई मानवीय सेवामा अभिप्रेरित गर्ने उद्देश्यले खानेपानी वितरण गर्ने कार्यमा सहभागी गराइएको शिक्षक प्रतिनिधि कृष्ण कार्कीले जानकारी दिनुभयो । विद्यालयले विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापका साथै सामाजिक र मानवीय कार्यमा सहभागी गराउँदै आएको कार्कीको भनाइ छ । आज साउनको अन्तिम सोमबार परेकाले देवघाटमा बढी भिडभाड हुने र टाढाटाढाबाट आएका भक्तजनहरु तिर्खाउने हुनाले उनीहरुको तिर्खा मेटाउन निःशुल्क पानी वितरण गरिएको कार्कीको भनाइ छ ।
विद्यालयकी प्रिन्सिपल इन्दिरा कार्कीले विद्यार्थीहरुलाई जीवनमा आइपर्ने हरेक क्षेत्रमा सक्षम बनाउनेगरी आफूहरुले अध्ययनसँगै अन्य क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनुभयो । विद्यार्थीहरुले चितवनतर्फ पर्ने देवघाटमा रहेकाे अस्थायी प्रहरी पोष्टसँगैको चोकमा पानी वितरण गरेका थिए । कार्यक्रममा व्यवस्थापन संकाय संयोजक रामकृष्ण अधिकारी, शिक्षक मनोज खड्का सहित कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागिता रहेको थियो ।