काठमाडौं, साउन २५- बंगलादेश छाडेर भागेको ४८ घण्टापछि पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको अन्तिम गन्तव्य कहाँ हुन्छ भन्ने प्रष्ट छैन । उनले बंगलादेश छाड्नुअघि भारतसँग अल्पकालीन अनुमति मागेकी थिइन् । भारतले तत्कालका लागि आफ्नो देशमा बस्न अनुमति पनि दियो, दिल्लीमै राखिरहन भारत तयार छैन ।
भारतीय विदेशमन्त्री एस जयशंकरले भारत हसिनाको अन्तिम गन्तव्य नरहेको स्पष्टसँग बताइसकेका छन् । उनले भनेका छन्, शेख हसिनाले छोटो सूचनामा भारत भ्रमण गर्न अनुमति माग्नुभएको थियो । शेख हसिनाका छोरा सजीव वाजेदले आफ्नी आमाले अन्य कुनै पनि देशसँग राजनीतिक शरण नमागेको बीबीसीसँगको एक अन्तर्वार्तामा बताएका थिए ।
अन्तर्राष्ट्रिय संकट समूहका अनुसन्धानकर्ता टम किनले बीबीसी बंगलासँग कुरा गर्दै हसिनालाई पश्चिमी देशहरूमा राजनीतिक शरण पाउन गाह्रो रहेको टिप्पणी गरेका छन् । पछिल्लो केही दिनदेखि बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरूले हसिनाले प्रहरी र सेनालाई अन्तिम क्षणसम्म थप बल प्रयोग गर्न निर्देशन दिँदै आएको समाचार प्रशारण गरेका थिए, तर त्यो सम्भव भएन ।
वाशिङ्टनस्थित अनुसन्धान संस्थान ुविल्सन सेन्टरुका दक्षिण एसियाली संस्थानका निर्देशक माइकल कुगेलम्यानले शेख हसिनालाई कुनै पनि पश्चिमी देशमा राजनीतिक शरण पाउन निकै गाह्रो हुने बताएका छन् ।