नवलपुर, २० साउन । नवलपुरको गैँडाकोटमा रहेको नन्दन कालिका महिला समूहको नयाँ भवन शनिबार उद्घाटन गरिएको छ । अनुदान र समूहले संकलन गरेको ११ लाख रुपैयाँको लागनमा नयाँ भवन निर्माण गरिएको संस्थाकी अध्यक्ष सावित्री सापकोटाले बताउनुभयो ।
गैँडाकोट–८ मा रहेको समूहको भवन निर्माणका लागि गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालयको पाँच लाख रुपैयाँ, गैँडाकोट नगरपालिकाको पाँच लाख रुपैयाँ र बाँकी पैसा समूहले संकलन गरेर भवन निर्माण गरेको सापकोटाले बताउनुभयो । अनुदानमा आएको रकम पाँच लाखबाट करकट्टी गरी समूहलाई प्रदान गरिएको सापकोटाको भनाइ छ ।
समूहले देउसीभैलो, भजनकीर्तन एवम् विवाह उत्सावबाट संकलन गरेको रकम समेत लगाएर भवन निर्माण गरिएको उहाँले बताउनुभयो । कार्यालय सञ्चालनको लागि एउटा कोठा र कार्यक्रम गर्नका लागि एक सय जना क्षमताको एउटा हल निर्माण गरी शनिबार उद्घाटन गरिएको उहाँको भनाइ छ । भवनको उद्घाटन गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गर्नुभएको थियो ।
यसैबीच, शनिबार नै समूहको पाँचौं वार्षिक साधारण सभा समेत गरिएको छ । साधारणसभा उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाले सबै क्षेत्रलाई सँगसँगै विकास गर्दै लिएर हिँडेको बताउनुभयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पूर्वाधारसहितका क्षेत्रमा योजना निर्माण गरी काम गर्दै आएको अधिकारीले बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटा, जनप्रतिनिधि कमला आचार्य, खगेश्वर सापकोटा, सुशीला परियार, तर्कबहादुर थापा, वडा स्तरीय टोल विकास संस्था सञ्जालका शशीधर न्यौपाने, त्रिनेत्र नेपालका महासचिव मुरारी भुषाललगायतको उपस्थिति रहेको थियो । समूहकी सचिव सरिता पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष निरा कुमारी घिमिरेले स्वागत गर्नुभएको थियो ।