नवलपुर, १९ साउन । नवलपुरको कावासोतीमा नेपाली सेनाका जवानले आज दिउँसो आफैलाई गोली हानी आत्महत्या गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गण कसरामा दरबन्दी भई कावासोती–७ बाँदरझुला स्थित नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकाअनुसार धादिङको गल्छी गाउँपालिका–४ घर भएका मिजारले आज दिउँसो १२ः३० बजेको समयमा आफैलाई गोली हानी आत्महत्या गरेका हुन् । निकुञ्ज सुरक्षार्थ गुल्ममा खटिएका मिजारले सोही पोष्टको कोत घरमा रहेको पाँच दशमलब ५६ एमएम मिनिमी गनद्वारा आफ्नै घाँटीको अगाडि भागमा गोली हानी आत्महत्या गरेको स्विट नेपाललाई पौडेलले जानकारी दिनुभयो । घटनाबारे जानकारी प्राप्त हुनासाथ घटना प्रहरी टोली घटनास्थलमा खटिइ थप अनुसन्धान कार्य अगाडि बढाएको पौडेलले बताउनुभयो ।
मृतक मिजारको शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको पौडेलको भनाइ छ । मिजारले किन आफैलाई गोली हानी आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।