चितवन, १४ साउन । साउनको दोस्रो सोमबार बिहानैदेखि पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्ने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ । श्रावण स्नानका लागि नवलपुर, चितवन र तनहुँसहित अन्य जिल्ला र भारतबाटसमेत तीर्थयात्रीहरु आएका देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सदन बरालकाअनुसार विगतका वर्षहरुमा जस्तो यसवर्ष भक्तजनहरुको उपस्थिति भने देवघाटमा देखिएको छैन । साउन महिनामा पाँचवटा सोमबार पर्दा भक्तजनहरुको उपस्थिति अत्यधिक हुने भए पनि यसवर्ष साउनमा चारवटा मात्रै सोमबार परेकाले भक्तजनको सङ्ख्या केही घटेको बरालले बताउनुभयो । पाँचवटा सोमबार नपरे पनि साउनको तेस्रो र चौथो सोमबार देवघाट स्नानका लागि भक्तजनको ठूलै भिड लाग्ने भन्दै बरालले देवघाट मेलालाई व्यवस्थित बनाउन लागिएको बताउनुभयो ।
वेणी सङ्गममा पानीको बहाब अधिक भएकाले नदीको छेउमा मात्रै स्नान गर्ने व्यवस्था गरिएको भन्दै बरालले नदीमा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीय बोटेसमेत परिचालन गरिएको जानकारी दिनुभयो । देवघाटको वेणी सङ्गममा स्नानपछि भगवान् शिवको पूजाआराधाना गर्दा यसलोकमा पूण्य आर्जन गरी शिवलोक प्राप्त हुने जनविश्वास रहेको उहाँको भनाइ छ । देवघाटका बारेमा विभिन्न हिन्दु ग्रन्थहरुमा समेत उल्लेख भएकाले यहाँ श्रावण स्नान विशेष हुने गरेको बरालले बताउनुभयो ।
साउनको दोस्रो सोमबार देवघाटको वेणी सङ्गममा स्नान गर्दै भक्तजन
साउनको दोस्रो सोमबार देवघाटको वेणी सङ्गममा स्नान गर्दै भक्तजन

तपाईको प्रतिक्रिया