गैँडाकोट,सोमबार– लायन्स क्लब अफ गैंडाकोट सप्तरङ्गीको आयोजनामा एसपीएम कलेज परिसरमा एक महत्त्वपूर्ण वृक्षरोपण कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता एमजेएफ लायन गोमा लुइटेलले गर्नुभएको थियो। भरतपुर सप्तरङ्गी, नारायणगढ सप्तरङ्गी र सप्तरङ्गी लेडिजको सहकार्यमा गैंडाकोट वडा नम्बर २ स्थित एसपीएम कलेज परिसरमा यो सामूहिक वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर का गभर्नर पिएमजेएफ लायन दिनानाथ न्यौपानेले वातावरण संरक्षणमा वृक्षरोपणको महत्त्व बारे प्रकाश पार्नुभयो। उहाँले कलेज व्यवस्थापन समितिका अध्यक्षको सुझाव अनुरूप कलेज परिसरमा सप्तरङ्गी लायन्स पार्क स्थापना गर्ने योजनाको शुभारम्भ गरिएको जानकारी दिनुभयो।
यस अवसरमा विविध प्रजातिका १४ किसिमका बिरुवाहरू रोपण गरिए। जसमा आँप, लिची, कटहर, हरो, बरो, आँवला, कागती, आम्बा, चिउरी, तेजपात, नास्पाती, कोइरालो, बेल र धुपी समावेश थिए। कार्यक्रममा गैँडाकोट २ का वडा सदस्य सकिला परियार, कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी, कलेजका प्राचार्य दीपेन्द्र पौडेल लगायत कलेजका प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।