चितवन, असार २६– संसदीय समितिमा चितवनको सहारा सहकारी पीडितले जीवी राई र रवि लामिछाने खोजेका छन् ।
आफूहरुको बचत रकम अपचलन गर्ने गोर्खा मिडिया प्रालिका सञ्चालकद्धय जीवी र रविलाई संसदीय समितिले बयानका लागि बोलाउनुपर्ने माग राखेका हुन् । सहारा सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिग्राम दुवाडीले बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा आफूहरुको बचत गरेको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको बताएका छन् । उनले गोर्खा मिडिया कम्पनीको नाम आउनेबित्तिकै चितवन प्रहरीले अनुसन्धान नगरेको समेत आरोप लगाएका छन् ।
सहारा सहकारीको रकम गोर्खा मिडिया नेटवर्क लगायत विभिन्न कम्पनीमा ५१ करोड गएको छ । ती कम्पनीहरुलाई मुद्दा हाल्दा चितवन प्रहरीले रोकेको छ । गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउनेबित्तिकै मद्दा रोकिनुपर्ने हो, किन रोकियो मुद्दा, राज्य किन मौन हुन्छ ?’, उनले समितिमा प्रश्न गरे ।
गोर्खा मिडिया प्रालिका अध्यक्ष जीबी राई हाल फरार छन् भने गृहमन्त्री रवि लामिछाने राजनीतिमा आउनुअघि गोर्खा मिडिया नेटवर्कको सञ्चालक र प्रबन्ध निर्देशक थिए ।सहारा सहकारीको रकम गोर्खा मिडियामा लैजाने जोसुकै भए पनि कारबाही हुनुपर्ने दुवाडीले बताए ।
सहारा सहकारीका पीडितहरुले चितवन प्रहरीमा पटक–पटक पुगेर मुद्दा प्रक्रिया अघि बढाउन माग गर्दै आइरहेका छन् । तर प्रक्रिया अघि नबढेको भन्दै दुखेसो पोखेका छन् । सहारा पीडितहरुले यही विषयलाई लिएर भरतपुरमा प्रदर्शन समेत गरेका थिए ।