काठमाडौँ, असार २६– नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसनले आयोजना गरेको ‘बिट द स्पिड’ को उपाधि प्रदीप जैसवालले जितेका छन् ।
१२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै जैसवालले यस प्रतियोगितामा जित हाँसिल गर्न सफल भए। यससंगै नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सम्पन्न भएको छ । विजेता जैसवालले नगद पुरस्कार जित्नुका साथै वर्ल्डलिंकको प्रायोजनमा भारतस्थित चेन्नइको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन्।
नेपाल टि–२० विश्वकप क्रिकेट खेल्ने संघारमा रहेको बेला यो अभियान वैशाख २१ मा सुरू भएको थियो । जसले नेपालका १८ सहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो।
नेपालका १८ सहरहरूबाट उत्कृष्ट ७ जना खेलाडीहरूलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो। उनीहरूले नेपाल ‘ए’ टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।
अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरूको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्यांकन गरेका थिए। प्रशिक्षण पश्चात ७ जनाबाट प्रदिप जैसवालले उत्कृष्ट बन्दै उपाधि जितेका हुन् । सन्देश थापा र राहुल कुमार यादवले क्रमशः १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए।
भावी सम्भावनाको पहिचान गर्दै प्रतिस्पर्धी रवि दमाईलाई ‘इमर्जिङ्ग ट्यालेन्ट’ को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। १२१ किमी प्रति घण्टाको गतिमा बलिङ गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए । साथै उनको बलिङ एक्सनलाई धेरै दर्शकहरूले ुलसिथ मलिङ्गाु सँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरे। यस अभियान अन्तरगत चितवनको नारायणी नदी किनारमा समेत कार्यक्रम गरिएको थियो ।