गैंडाकोट, असार ८ – महेन्द्र स्मारक आधारभूत विद्यालयले शुक्रबार विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय सुधार योजना (SIP) निर्माण गर्न एकदिने कार्यशाला सम्पन्न गरेको छ ।
गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हरेराम सापकोटाको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य अमृत श्रेष्ठ ले राख्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेले विद्यालयले आवधिक रूपमा विद्यालय सुधार योजना तयार गरी समग्र व्यवस्थापन एवम् सुधार कार्य सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था अनुरुप विद्यालय सुधार योजना निर्माणकालागि कार्यशाला गरिएको बताउनुभयो ।
कार्यशालामा विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०८० लाई आधार मानिएको छ। यस पुस्तिकाले स्थानीय तहलाई सहजीकरण गर्न र विद्यालयलाई स्व-मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ।
पूर्व उपसचिव तथा शिक्षाविद् गोपालप्रसाद भण्डारीले कार्यशालामा सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यालय सुधार योजनाको महत्व र यसको प्रभावकारी कार्यान्वयनका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।
यो कार्यशालाले विद्यालयको भविष्यको दिशा निर्धारण गर्नुका साथै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विद्यालय प्रशासनले यस योजनाको कार्यान्वयनमा सबै सरोकारवालाहरूको सहयोग र समर्थन अपेक्षा गरेको छ। यो कार्यशालाले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार गर्ने र समुदायको सहभागिता बढाउने प्रयासलाई बल पुर्याउने विश्वास गरिएको छ। यसले गैंडाकोट क्षेत्रको शैक्षिक विकासमा नयाँ अध्याय थप्ने आशा गरिएको छ।