गैंडाकोट , असार २ – सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले आयोजना गरेको एस.ई.ई. कप – २०८१ 7A साईड खुल्ला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह विद्यालयमा आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष श्री कमला पति शर्माले गर्नुभएको थियो। समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री सेतमान पुन उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा वडा नं. २ का अध्यक्ष श्री प्रकाश सापकोटा, गैडाकोट खेलकुद विकास समितिका अध्यक्ष श्री लक्ष्मण कार्की र पूर्व वडा अध्यक्ष (वडा १) श्री हरि प्रसाद सापकोटा हुनुहुन्थ्यो।
कार्यक्रमको स्वागत मन्तव्य सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्राचार्य श्री भरतबाबु कंडेलले राख्नुभएको थियो।
कंडेलले स्वागत मन्तव्य राख्दै “यो प्रतियोगिता केवल खेलकुदको प्रतिस्पर्धा मात्र नभई विद्यार्थीहरूको सर्वांगीण विकासको एउटा महत्त्वपूर्ण पाटो रहेको बताउनुभयो । यसले उनिहरूमा टिमवर्क, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना जगाउँछ।”
यस प्रतियोगितामा २८ विभिन्न विद्यालयका टिमहरूले भाग लिँदैछन्। फाइनल खेल असार ४ गते हुने तालिका रहेको छ। विजेता टिमलाई रु. १८, ००० नगद पुरस्कारका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमले रु. १०,००० नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यसका साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि विशेष पुरस्कार दिइनेछ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री सेतमान पुनले यस प्रतियोगिताको महत्त्व बारे बोल्दै “यस्ता प्रतियोगिताहरूले स्थानीय स्तरमा खेलकुदको विकासमा ठूलो योगदान पुराउने बताउनुभयो । बिद्यालय स्थरमा हुने यस्ता खेलहरुले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने बताउनुभयो “
उद्घाटन समारोह पश्चात् पहिलो खेल गैंडाकोट इङलिस स्कुल र ने.रा.श माविबीच भयो, जसमा गैंडाकोट इङलिस स्कुलले २-० गोल अन्तरले विजय हासिल गर्यो।
यो प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। आगामी दिनहरूमा यस प्रतियोगिताले थप रोमाञ्चक खेलहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, र यसले स्थानीय समुदायमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।