गैंडाकोट // गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा नीति नियम तर्जुमा गर्नुअघि विभिन्न सरोकारवाला पक्षहरूसँग विस्तृत छलफल कार्यक्रम शुरू गरेको छ।
शुक्रबार आयोजित एक कार्यक्रमबाट उक्त छलफल कार्यक्रमको शुभारम्भ गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरू भएको र विभिन्न सरोकारवालाहरूसँग छलफल गरी प्राप्त सल्लाह सुझावहरूलाई बजेटमा समेट्ने बताउनुभयो। उहाँले देशमा आर्थिक संकट रहेकाले निजी क्षेत्रलाई पनि राहत मिल्नेगरी बजेट विनियोजन गर्ने तयारी रहेको जानकारी दिनुभयो।
यसैबीच, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटाले गैंडाकोट नगरपालिकाले सरोकारवालासँग पूर्व छलफल गरेकोमा धन्यवाद व्यक्त गर्दै क्षेत्रभित्रका व्यवसायहरूलाई कर दायरामा ल्याउन सहकार्य गर्न तयार रहेको बताउनुभयो। साथै, निजी क्षेत्र र नगरपालिकाबीचको सम्बन्धलाई नङ र मासुजस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी, नगरपालिका उपप्रमुख सान्ती कोइरालाले गैंडाकोटको समग्र विकासमा निजी क्षेत्रको अपरिहार्य योगदान रहेको बताउँदै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो। उहाँले गत वर्षहरूको कमी कमजोरी सुधार गर्न यस्तो छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख सान्ती कोइराला, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटा लगायतको कार्यसमिति टिम र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
छलफल कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहनेछ। उनीहरूबाट आगामी बजेटको खाका, प्राथमिकता तथा समावेश गर्नुपर्ने विभिन्न कार्यक्रम र परियोजनाका विषयमा राय सुझाव लिइनेछ। गतवर्षको अनुभवलाई समेत मध्यनजर गरी यसपटक पनि छलफल कार्यक्रम आयोजना गरिएको हो। सरोकारवालाहरूबाट प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीतिमा समावेश गरिनेछ।