काठमाडौं, फागुन १६- मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा रहेको प्याराडाइज इन्टरनेसनल प्रालिमार्फत विभिन्न चरणमा गरी रुम्बालगायत ७० जनाभन्दा बढी नेपाली कामदार यूएईको सीआरसी कम्पनी क्लिनरको कामका लागि पुगेका थिए ।
मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ बुझाएर त्यहाँ पुगेका उनीहरू अहिले सम्झौताअनुसारको काम र तलब नपाएपछि तनावमा छन् । मेनपावरले उनीहरूलाई ८ घण्टा काम गरेबापत ८ सय दिराम तलब दिने भनेको थियो । तर, १६ घण्टा काममा पेलाएर ८ घण्टाको मात्र तलब दिने गरेको र आफूहरूमाथि रोजगारदाताले श्रम शोषण गरेको पीडितले बताएका छन् ।
‘हामीलाई मेनपावरले गरेको करार सम्झौतापत्रमा दैनिक ८ घण्टा, २६ दिन काम गरेबापत ८ सय दिराम तलब र खान बस्न कम्पनीले दिने भनिएको छ,’ रुम्बाले राजधानीसँग भने, ‘तर, यहाँ कम्पनीले १६ घण्टा काममा लगाउँछ, खाना खाने पैसा पनि दिँदैन, खाना आफ्नै पैसाले खानुपर्छ, ४ सय दिराम पनि बचाउन मुस्किल पर्छ ।’ मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग २ लाख रुपैयाँसम्म असुली गरेर पठाएको उनीहरूले बताए । यो समाचार राजधानी दैनिकमा छ ।