काठमाडौँ, २८ माघ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइयो कि लिइएन भनेर प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अरुण चौधरीकै बराबर सेयर भएका विनोद चौधरीसँग किन बयान नलिएको भन्दै प्रश्न गरेका हुन् ।
‘अरुण चौधरीकै जति सेयर भएका सत्तारुढ दलका सांसद विनोद चौधरीलाई अनुसन्धानको दायरामा राखेर बयान लिन सकिन्थ्यो होला बयान लिइयो कि लिइएन’, लामिछानेले प्रश्न गरे ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाईसमेत बोलाइएको थियो ।
सांसद लामिछानेको प्रश्नको जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जो जो सँग बुझ्नुपर्छ सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियामा जो जोलाई लिखत गर्न, बुझ्न ल्याउनुपर्छ ती सबैलाई ल्याउँछौं ।’