चितवन । चितवनमा केन्द्रीय कार्यालय रहेको सामाजिक संस्था स्पन्दन नेपालले पवित्र तीर्थस्थल देवघाटमा रहेको गलेश्वर आश्रममा भोजन गराएको छ । आश्रममा रहेका ज्येष्ठ नागरिक एवं संस्कृत गुरुकुलम्मा अध्ययनरत बटुक (विद्यार्थी)हरुसहित करिब तीन सय जनाका लागि संस्थाले आज शुक्रबार भोजन ग्रहण गराएको हो ।
संस्थाकी अध्यक्ष अनिता खनालले परोपकारी र सेवामुखी काम गर्ने उद्देश्यले महिलाहरुद्वारा स्थापित गरिएको सस्था स्पन्दन नेपालले स्थापनादेखि नै परोपकारी र सेवामुखी काम गर्दै आएको बताउनुभयो । सस्थाको स्थापनाको उद्देश्य महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि काम गर्ने रहेको भन्दै खनालले देवघाटमा पुगेर भोजन ग्रहण गराउन पाउँदा मानसिक शान्ति प्राप्त भएको बताउनुभयो ।
सस्थाले नामअनुसारको काम गर्दै आएको खनालको भनाइ छ । संस्थाकी सल्लाहकार रज्जु मैनालीले संयोजन तथा सचिव विमला दाहालले सहजीकरण गर्नुभएको कार्यक्रममा उपाध्यक्ष मञ्जु पाठकले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा सहसचिव शोभा बास्तोला, निवर्तमान अध्यक्ष इन्दिरा भुसाल, सदस्यहरु विमला घिमिरे, पार्वती गुरुड, सकुन्तला धरेल, सल्लाहकार गोमा भट्टराई, साधारण सदस्य लक्ष्मी ढकाललगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, सस्थाकी अध्यक्ष अनिता खनालले गत पुस २२ गते कालिका नगरपालिकाको पहाडी विद्यालयमा ६० जना विद्यार्थीलाई लुगाको न्यानो सेट वितरण गरिएको बताउनुभयो । आफूहरुले न्यानो लुगा वितरण गरिरहँदा ती विद्यार्थीहरुको खुट्टा खाली देख्दा उनीहरुलाई जुत्ता दिने प्रतिबद्धताअनुसार भोलि शनिबार जुत्ता वितरण गर्न लागेको बताउनुभयो । ‘चिसोमा बालबालिकाहरु खाली खुट्टा विद्यालय आएको देख्दा मन विचलित भयो’ उहाँले भन्नुभयो, ‘उनीहरुलाई जुत्ता दिलाउने मनमनै गरेको प्रतिवद्धता पूरा हुँदैछ शनिवार जुत्ता र मोजा बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गर्दैछौ ।’